१६ दिने लैंगिक हिंसा विरुद्धको अभियानबारे जानकार छैनन् गाउँका महिला

जाजरकोट । सरिता परियार ३२ वर्षकी भईन् । जाजरकोटको छेडागाड नगरपालिका घर भएकी उनी मजदुरी गर्छिन् । एक छोरा र एक छोरीलाई मजदुरी गरेरै पालेकी सरिताका श्रीमान् साथमा छैनन् । श्रीमान् गुमाएको तिनवर्षमा उनले थुप्रै दुख झेलिसकिन् । तर संघर्ष एक्लैले गर्नुपरेको छ ।

एकल महिला हुँदा समाजको अपहेलना, आर्थिक अभाव र छोराछोरीप्रतिको जिम्मेवारीले उनको निन्द्रा खोसेको छ । जाजरकोटको सदरमुकाम खलङगामा बसी मजदुरी गर्ने सरिता परियारलाई छोराछोरी पाल्न हम्मे–हम्मे परेको छ । उनलाई यो अवस्थाले श्रीमान्को अभाव खट्किन्छ ।

महिला भएकै कारण ज्यालामा गरिने विभेद, श्रीमान् गुमाउँदा समाजले हेर्ने दृष्टिकोणले उनलाई जिवन गुजारा गर्न असजह भएको छ । तर यो पनि हिंसा हो भन्ने कुराको जानकारी भने उनलाई छैन । नत उनी विभेदबारे आवाज उठाउन नै सक्छिन् ।

‘शहरका महिलालाई गाउँमा जस्तो पिडा भोग्नुपर्दैन ’ उनले भनिन्“ काम गर्न जाँदा अरु पुरुषसंग बोल्दा पनि कुरा काट्छन् ।” काम एउटै भएपनि ज्यालामा महिला र पुरुषलाई विभेद गरिने उनले बताईन् ।

‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नारा सहित ३० औं अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको अभियान सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २४ देखी डिसेम्बर १० सम्म संचालन हुने अभियानबारे सरितालाई भने जानकारी छैन । नत उनी यस्ता खालका अभियानमा कहिल्यै सहभागी नै भएकी छन् ।

लैंगिक हिंसाको सामाना जसले गर्नुपरेको छ उसैलाई अभियानबारे जानकारी नै छैन । उनले मजदुरी गर्दा ज्यालामा विभेद भोगेकी छन् । एकल महिला भएकै कारण समाजले गर्ने अपहेलना पनि भोगेकी छन् । तर १६ दिन सम्म चल्ने लैंगिक हिंसा विरुद्धको अभियानबारे भने जानकार छैनन् ।

‘हामीहरुलाई कार्यक्रमबारे जानकारी हुँदैन’ उनी सुनाउँछिन् “ मलाई त हिंसा भनेकै के हो ? भन्ने बारे पनि थाहा छैन ।” हिंसा र विभेद भोगेर पनि अनविज्ञ सरिताले गाउँका महिलालाई पनि यस्ता अभियानमा समेट्नुपर्ने बताउँछिन् । शहरका ठुला होटेलमा कार्यक्रम गरेर परिवर्तन नहुने उनको तर्क छ ।

उनीजस्तै मजदुरीमै जिवन गुजारा गरेकी कालिका शाहीलाई समेत लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानबारे जानकारी छैन । नत उनी यस्ता अभियान र कार्यक्रममा सहभागी नै भएकी छन् । भेरीनगरपालिका २ रिसाङ जाजरकोट घर भएकी कालिकाको समेत भनाई सरिताकै जस्तो छ ।

लैंगिक हिंसा विरुद्धको अभियान शहर केन्द्रित नभई गाउँ केन्द्रित हुनुपर्ने उनको भनाई छ । जबसम्म हिंसा भोग्नेले नै अभियानबारे जानकारी पाउँदैनन् तबसम्म हिंसामुक्त समाजको कल्पना गर्न नसकिने उनले सुनाईन् ।

हरेक वर्षजसो १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान विभिन्न कार्यक्रम गरि मनाईन्छ । तर तल्लो तहका महिलाले अभियानबारे पत्तो नै पाउँदैनन् । नत उनीहरुलाई कार्यक्रममा सहभागी नै गराईन्छ । जसले हिसा भोगेको छ उसैको नेतृत्वमा यस्ता खालका अभियानहरु संचालन गर्नुपर्ने महिलाहरु सुनाउँछन् ।