ललिता निवास भित्रका अस्थायी संरचना हटाउन महानगरले दियो २४ घन्टे अल्टिमेटम

सुर्खेत । काठमाडौं महानगरपालिकाले ललिता निवास भित्रका अस्थायी संरचना हटाउन अल्टिमेटम दिएको छ। ललिता निवासभित्र भएका सबै अस्थायी संरचना हटाउन २४ घन्टे मौखिक अल्टिमेटम दिइएको महानगरले जानकारी दिएको हो ।

आइतबार दिउँसो ललिता निवासको जग्गामा घेराबार गर्न महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोली पुगेको थियो। सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ। महानगर प्रहरीको टोलीले अहिले घेराबारको काम गरिरहेको छ।

केही दिनअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्की अहिले प्रहरी हिरासतमा छन्। ब्युरोले अनुसन्धान गरिरहेको बेलामा महानगरले जग्गा संरक्षण गर्ने भन्दै घेराबार लगाउन लागेको हो।

ललिता निवासभित्र नर्सरी, काठका सामानहरू, अस्थायी टहरा लगायत संरचनाहरू छन्।