फिल्डिङमा चुक्दा वेष्ट इण्डिजसँग नेपालको फराकिलो हार

सुर्खेत। आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध फिल्डिङका चुक्दा नेपालले फराकिलो हार व्यहोरेको छ ।

दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भयो ।

जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९।४ ओभरमा २३८ रनमा अल आउट भयो ।

२८।१ ओभरमा १२९ रन बनाउँदा ६ विकेट गुमाएको नेपालको स्कोर आरिफ शेख र गुल्सन झाले केही उकासेका थिए । उनीहरुले सातौं विकेटका लागि ६८ रनको साझेदारी गरे । गुल्सन ४२ रन बनाएर आउट भए । आरिफ ६३ रन बनाउँदै आउट भए ।

ओपनर कुशल भुर्तेल ५ रनमा आउट भएपछि अर्का ओपनर ब्याटर आसिफ शेखले केही सम्हालिन खोजे । उनले ३६ बल खेल्दै ३ चौका सहित २८ रन बनाए । कप्तान रोहित पौडेलले ४३ बलमा ३ चौका सहित ३० रन जोडे ।

तेस्रो क्रममा आएका भीम सार्की खराब सर्ट सेलेक्सनका कारण २ रन बनाउँदै फाइन लेगमा विकेट किपरको हातबाट क्याच आउट हुन पुगे ।

सातौं ब्याटर दिपेन्द्र सिंह ऐरी क्रिजमा आक्रमक देखिए । उनले २४.६ ओभरमा एकेल होसिनको बलमा लामो छक्का प्रहार गर्दै मिडिया बक्सको सिसा फुटाएका थिए । तर उनी पनि २३ रनमा आउट भए ।

त्यसअघि, वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले । बिहानी विकेट कन्डिसनमा ब्याटिङका लागि संघर्षरत वेष्ट इण्डियन ब्याटरहरुले मध्य ओभरमा शानदार प्रदर्शन गरेका थिए ।

सुरुवातमै शीर्षक्रमका तीन ब्याटरलाई सस्तैमा आउट गर्न सफल रहे पनि त्यसपछि नेपाली बलरहरु विकेटका लागि संघर्ष गरिरहे ।

नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच आउट गर्नुअघि मायर्सले १ रनमात्र बनाउन सके ।

करणले यसअघि अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि ४ विकेट लिएर प्लेयर अफ द म्याच बनेका थिए ।

पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चार्ल्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरे । गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चार्ल्सले खाता खोल्नै सकेनन् ।

१५।३ ओभरमा तेस्रो विकेटका रुपमा ब्रेन्डन किंग आउट भएका थिए । ३२ रन बनाएर खेलिरहेका उनलाई सन्दीप लामिछानेले बोल्ड गरे । त्यसपछि सुरु भयो वेष्ट इण्डिजका कप्तान साइ होप र निकोलस पुरनको ब्याटिङ । यी दुवैले शतकीय पारी खेल्दा चौथो विकेटका लागि २१६ रनको साझेदारीसमेत गरे ।

४३।६ ओभरमा दीपेन्द्रसिंह ऐरीले कट एण्ड बोल्ड गर्नुअघि दुईपल्ट जीवनदान पाएका पुरने ११५ रन बनाए । उनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

४७।१ ओभरमा ललित राजवंशीले वेष्ट इण्डिजको पाँचौं विकेटका रुपमा रोभमन पावेललाई गुल्सन झाबाट क्याच आउट गराए । पावेलले १४ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाए ।

४९।२ ओभरमा ललितले वेष्ट इण्डिजका कप्तान होपलाई १३२ रनमा भीम सार्कीबाट क्याचआउट गराए । होपले १२९ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।

इनिङ्सको अन्तिम बलमा ललितले कीमो पाउललाई १ रनमा बोल्ड गरे । जेसन होल्डर १६ रनमा अविजित रहे ।

बलिङमा ललितले ३ तथा करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए । ललितले १० ओभरमा ५२ रन खर्चिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए ।

अघिल्लो खेलमा अमेरिकाविरुद्ध प्लेयर अफ द म्याच बनेका करण यसपल्ट महंगो सावित भए । उनले १० ओभरमा १ मेडन राख्दै ८१ रन खर्चिए ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

आउने अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने आशा जीवित राख्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेर सुपर सिक्समा पुग्नुपर्छ ।