माइतीघरमा मिटरब्याजीको धर्ना

सुर्खेत । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरूले काठमाण्डौको माइतीघरमा धर्ना दिएका छन् ।

पीडित लेनदेन सङ्घर्ष समिति, मधेस प्रदेश, रौतहटलगायत तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरूले बुधवार माइतीघरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुङ्ग पार्न खोजिएको आरोप लगाउँदै उनीहरूले आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरूले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा उजुरी दर्ता गरिनुपर्ने, अहिले दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलका लागि पालिकालाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको साँवा र ब्याज उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले लेनदेन कारोबार सहज गर, अदालतमा कपाली तमसुकको मुद्दा दर्ता गर, कानुन बमोजिम गरिएको लगानी कानुन बमोजिम फिर्ता गरियोस् लगायतका प्ले कार्ड र ब्यानर बोकेर विरोध जनाएका छन् ।