अमेरिकाले नेपाललाई दियो २ सय ८ रनको लक्ष्य


सुर्खेत । विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अमेरिकाले नेपाललाई सम्मानजनक चुनौती दिएको छ । जिम्बाब्वेको तकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन बनायो ।

कुनै बेला सय रन पनि नकटाउने अवस्थामा गुज्रिएको अमेरिकाका मध्यक्रमका ब्याटर चम्किएपछि नेपालले २०८ रनको मध्यम लक्ष्य पाएको हो ।

अमेरिकाका लागि सातौँ नम्बरमा ब्याटिङ गर्न आएका शायन जहांगिरले शतकीय पारी खेले । उनले ७९ बलमा सय रन बनाए । १८ रन हुँदा चार विकेट गुमाएको अमेरिका कुनै एक समय सय रन पनि नकटाउने अवस्थामा थियो । शायन क्रिजमा टिकिरहे । उनकै उत्कृष्ट प्रदर्शनमा अमेरिकाले नेपाललाई प्रतिस्पर्धात्मक चुनौती दिएको हो ।

करण केसीले ४, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान २–२ विकेट लिँदा ललितनारायण राजवंशीले एक विकेट लिए । करणले टेभन टायलोरलाई चार, आरोन जोन्सलाई दुई, नोसथस केन्जिगेलाई एक र साइतेजा मुक्कामल्ललाई शून्यमा आउट गराए । दीपेन्द्रले गजानन्द सिंहलाई २६ र जेसी सिंहलाई १२ रनमा आउट गराए ।

गुल्सनले निसार्ग पटेललाई आठ, सौरभ नेत्रभाल्करलाई चार र कायल फिलिपलाई शून्यमा आउट गराए । त्यस्तै, ललितले सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड आउट गराए ।