गर्मी बढेपछि दैनिक २ हजार विद्युत खपत

सुर्खेत । गर्मी बढेसँगै विद्युतको माग बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अहिले दैनिक २ हजार मेगावाट विद्युत माग भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

अघिल्लो वर्ष १७ सय मेगावाटसम्म माग भएको थियो । यसपटक २ हजारको हाराहारीमा पुगेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । नेपालमै उत्पादन भएको साढे ११ सय मेगावाट र अरु भारतबाट आयात गरिएको विद्युत खपत भएको उनको भनाइ छ ।

प्राधिकरणले वर्षा नहुँदा अहिले नेपालले अपुग बिजुली भारतबाट किनिरहेको छ । सुख्खा सिजन तथा गर्मी बढेपछि शहर र तराई क्षेत्रमा बिजुलीको माग बढेको प्राधिकरणको भनाई छ।

पछिल्लो समय देशभर गर्मी बढिरहेको छ । विशेषगरी तराई क्षेत्रमा अधिकतम गर्मी छ । गर्मीमा एसी, पंखा, फ्रिजलगायतका विद्युतीय उपकरणको प्रयोग अत्यधिक हुन्छ ।