कर्णाली करिडोर भोलीदेखि एकहप्ता बन्द


सुर्खेत । कर्णाली करिडोर भोलिदेखि एकहप्ता बन्द हुने भएको छ । कालीकोटको नरहरिनाथ–८ खुलालुबाट हुम्लाको सलीसल्ला सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको हो । कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नतिको कार्य हुने भएकाले सात दिनका लागि करिडोर बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना जारी गर्दै कर्णाली करिडोरको खुलालु पक्की पुल छेउछाउमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले एक हप्ताका लागि बन्द गरिएको जानकारी गराएको छ ।

सडक बन्दले कर्णाली करिडोर हुँदै कालीकोटको नहरिनाथ, सान्नी त्रिवेणी, पचालझरना, पलाँता गाउँपालिका, रास्कोट नगरपालिका, बाजुरा, मुगु र हुम्ला जानका लागि आवतजावत प्रभावित हुने भएको छ ।