अथाह लगानीका बावजुत कृषिमा नतिजा शुन्य : मुख्यमन्त्री शर्मा


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जलवायुमैत्री कृषि बीउ वीजन ,कृषि मेशिनरी तथा कृषि सेवा बिस्तार बिषयक २ दिने अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश र जिआइजेटद्वारा संचालीत ग्रेप परियोजनाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रकी प्रमुख सावित्री बरालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री भिम प्रसाद शर्मा र ग्रेप परियोजना प्रमुख कल्याण गौलीको विशेष आतिथ्यता रहेको थियो ।

वीउ व्यवसायी संघ, कृषि मेसिनरी व्यवसायी संघ, प्रांगारिक मल तथा विषादी उत्पादक कम्पनीहरु, एग्रोभेट व्यवसायी तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका विशेष अतिथि एवम् भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री भिम प्रसाद शर्माले यस प्रदेशलाई कर्मथलो बनाएर कृषिमा काम गर्ने संस्थाहरुको हालसम्म कुनै पनी काम नदेखीएको र परिणाममुखि काम नगरेको बताएका बताए । उनले प्रदेशमा राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाले कृषिका क्षेत्रमा धेरै काम गरेतापनि अहिलेसम्म कुनैपनी काम प्रभाबकारी रुपमा नदेखिएको र तथ्यांकहरु खोजेको बेला उपलब्ध नह्ने गरेकाले सबै जिम्मेवार भएर लाग्न अनुरोध गरे।

मन्त्री शर्माले कर्णाली प्रदेशमा कृषिमा खासै उपलब्धी हुन नसकेको बताउदै अब काम गर्दा परिणममुखी भएर काम गर्न आफु लागि पर्ने र कृषिमा आधारित जुनसुकै काम पनी अनुदानका लागी मात्र गरिने परिपाटीको अन्त्य गर्नका लागी आगामी बजेटमा त्यस्ता खालका निती तथा कार्यक्रम ल्याइने बताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले हिमाली क्षेत्रमा उत्पादन हुने फलफुल, तरकारी, खाद्यान्न तथा जडिबुटीको अचित व्यवस्थापन गरी उद्योग संचालन गर्न सके धेरैलाई रोजगारी दिन सकिने र एउटा उपलब्धि देखिने, जसका लागि क्षमता अभिबृद्धि तालिम संचालन गर्नुपर्ने बताए ।

उनले यो प्रदेशमा व्यवसायमा प्रचुर सम्भावना भएपनि हाम्रा गतिविधिहरु परम्परागत ढिकी र घट्टबाटै चलिरहेकाले उक्त कुराहरुलाई सुधार गर्दै व्यवसायिक रुपमा गर्न सके कृषि क्षेत्रमा धेरै प्रगति गर्न सकिने बताए । अर्गानिक प्रदेश वनाउने सरकारको लक्ष्य पुरा गर्न कठिन भएपनि सवैलाई यो कुरा आजको आवश्यकता महशुस भईसकेकाले थोरै क्षेत्रबाट अर्गानिक काममा सरकार लाग्ने बताए । उनले वातावरणीय परिवर्तका कारण वीउको गुणस्तर सुधार गर्नका लागि अनुसन्धान केन्द्रले प्रभावकारी रुपमा कार्यहरु अगाडी बढाउन कृषि मन्त्री मार्फत् सम्बन्धित निकायलाई निर्देशन दिए ।

अवको आवश्यकता साझेदारी मोडलमा काम गर्नु पर्ने, आफ्नो पुजी, आफ्नै लगानीका कार्यक्रमहरु अगाडी बढाईनु पर्ने, प्रविधिमैत्री कृषि गतिबिधिहरु संचालन गर्नुपर्ने, आयातित बस्तुहरु बिक्री वितरणमा कमि ल्याउदै स्थानिय उत्पादित बस्तुहरुको बिक्री बितरण गरिनु पर्ने, कृषि क्षेत्रमा सोच्ने तरिका र काम गर्ने तरिकामा बदलाव ल्याउनु पर्ने, भुगोलका आधारमा कार्यक्रमहरु तयार गरिनु पर्ने र संचालन गरिएका कार्यक्रमको नियमित अनुगमन गरिनुपर्ने, एकद्वार प्रणाली मार्फत् कार्यक्रमहरु संचालन गरिनु पर्ने सुझाव व्यक्त गरे ।

अव बन्ने निति तथा कार्यक्रममा कृषिको माध्यमबाट गरिवीको अन्त्य र सामाजिक न्यायको वातावरण सिर्जना हुनेगरी आवश्यकताको प्राथमिकिकरण गरी उचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मन्त्रालयका धन बहादुर कठायतले प्रांगारिक मल तथा विषादीमा प्रदेश सरकारको नितीगत प्रावधानहरु, नेपाल वीउ व्यवसायी संघका केन्द्रिय अध्यक्ष बसन्तचन्द्र मरहठ्ठाले वीउ उत्पादन तथा वजारीकरणको समस्या, चुनौती र अवसर, ग्रेप परियोजना प्रमुख कल्याण गौलीले परियोजना बारे , अर्गानिक बायो फर्टिलाइजरका रोशन केसीले प्रांगारिक मल तथा जैविक मलको बारेमा, प्रारम्भ बायोटेकका प्रतिनिधीले जैविक विषादीको बारेमा, नेपाल कृषि मेसिनरी संघका केन्द्रिय सचिव कृष्ण शर्माले समग्र कृषि औजार उपकरणका सम्भावना, अवसर र चुनौतिका विषयमा जानकारी गराएका थिए भने कार्यक्रम संचालन कृषि विकास निर्देशनालयका तिलक पाण्डेले गरेका थिए ।