राष्ट्रपतिद्वारा मिटरब्याज समस्या समाधान गर्ने अध्यादेश जारी


सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका छन् । आज बुधवार राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गरेका हुन् ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । त्यही अध्यादेशलाई राष्ट्रपतिले आज जारी गरेका हुन् । सरकारले मिटरब्याज अनुचित लेनदेन भन्दै मिटरब्याजीलाई कारबाही गर्ने गरी अध्यादेश ल्याएको हो ।

यो अध्यादेश जारी भएसँगै अब मिटरब्याजीलाई कारबाही गर्ने बाटो खुल्ने भएको छ । मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही हुनुपर्ने र आफूहरूलाई न्याय मिल्नुपर्ने भन्दै आन्दोलन गरेपछि सरकारले कारबाही गर्ने सहमति गरेको थियो ।