लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त


सुर्खेत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका हुन् ।

नेकपा माओवादी केन्द्रसहित सत्तारुढ दलहरुले गएको चैत १२ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले आज प्रदेश सभा बैठकमा विश्वासको मत मागेका थिए । गिरीको पक्षमा एमालेका २९ र राप्रपाका ४ गरी ३३ मत मात्रै खस्यो । ८७ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४४ सांसदको समर्थन आवश्यक थियो ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका हुन् । सत्तामा सहभागी दलहरुले समर्थन फिर्ता लिएपछि नेकपा माओवादी, नेपाली कांग्रेससहितका ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको बताएको छ । लुम्बिनी प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो ।