उपचुनाव : निर्वाचन सामग्री मतदान केन्द्रमा पुर्याइँदै, बारामा तीन दिन सीमानाका बन्द


सुर्खेत । पर्सि आइतवार हुने उपचुनावका लागि मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याउन थालिएको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपचुनाव हुँदैछ । जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारीसहित, मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन थालेका छन् । त्यस्तै, आवश्यक सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ ।

पर्सि वैशाख १० गते हुने उपचुनावका लागि बारामा आजदेखि तीन दिनसम्म भारतीय सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर आज राति १२ बजेदेखि आइतवार राति १२ बजेसम्म जिल्लासँग जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको हो ।

उपचुनावको सुरक्षालाई ध्यानमा राखेर सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । यस्तै, मतदानको सम्पूर्ण कार्य सम्पन्न नभएसम्म जिल्लाभरि जाँडरक्सीको ओसारपसार, बिक्री–वितरण गर्न तथा खान रोक लगाइएको छ ।

उपचुनाव हुने क्षेत्रमा गएरातिदेखि नै मौन अवधि सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गएको माघ १३ गते दोषी ठहर गरी सांसद पद खारेज गरेपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो ।

तनहुँ–१ मा चुनाव जितेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि र बारा–२ मा जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपचुनाव हुन लागेको हो ।