सुर्खेत । सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरूले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
शुक्रबार ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयबाट ुमिसन ग्रासरुट नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअली शुभारम्भ गर्दै अध्यक्ष ओलीले अस्वस्थ ढङ्गले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्ने गरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरू अहिले पनि रहेकाले त्यस्ता शक्तिहरूको षड्यन्त्रबारे नागरिकलाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको पनि बताए ।
उनले ‘विभिन्न राजनीतिक शक्तिहरू एमालेसँग स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । तसर्थ उनीहरू अस्वस्थ प्रतिस्पर्धाका विधिहरू अपनाउन सक्छन् । हामीले निकट विगतमा भोगेको समस्या फेरि आउँदा दिनमा भोग्नु नपर्ला भन्न सकिन्न । किनभने राजनीतिक शक्तिहरू तिनै छन् । उनीहरूको फेरि उस्तै किसिमको चक्रव्यूह हुँदैन भन्न सकिन्न । यस्तो स्थितिमा हामीले आफूलाई तयार राख्नुपर्दछ ।’
अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । पार्टी हितको पक्षमा उभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले एमालेजस्तो पवित्र उद्देश्य भएको पार्टी अरू नरहेको जिकिर समेत गरे ।
फरकबाटो ५ फाल्गुन २०७९, शुक्रबार २१:२४