
सुर्खेत । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयमा किताब (पाठ्यपुस्तक) पुगेको छ । गएको चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयमा किताब पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ ।
आज सोमवार किताब बिक्री–वितरण र छपाइको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । अनुगमनपछि केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा किताब पुर्याउने गरी काम भइरहेको बताएका छन् । उनले केन्द्रले कक्षा ६ देखि १० सम्मका एक करोड ५० लाख किताब छपाइको काम सम्पन्न गरी बिक्री–वितरण गरिरहेको जानकारी दिए । उनले अहिलेसम्म ५९ जिल्लाका विद्यालयमा किताब पुगेको र अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म किताब पुग्ने बताए ।
प्रबन्धक झाले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरूलाई प्राथमिकतामा राखेर किताब बिक्री–वितरण गरेको सुनाए । पुस्तक छपाइ गर्ने मेशिन, जनशक्ति, बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै किताब पुर्याउन सफल भएको समेत बताए ।
, ‘जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मको किताब छपाइको काम सम्पन्न गरेको छ । केन्द्रले एक करोड ५० लाख पुस्तक प्रकाशन गर्नुपर्नेमा पूरै काम सम्पन्न गरिसकेको छ । गएको २४ गतेदेखि २०८० वैशाख ३ गतेसम्म ५९ जिल्लामा पुस्तक बिक्री–वितरण सम्पन्न गरिसकेका छौँ । बाँकी १८ जिल्लामा पनि वैशाख १५ गतेसम्म किताब पुग्छ ।’ उनले भने ,
प्रबन्धक झाले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड रुपैयाँ ऋण लिएर पुस्तक छपाइ गरेको जानकारी गराए । पुस्तक बिक्री–वितरण गरेसँगै ४० करोड रुपैयाँ ऋण चुक्ता गरिसकेको पनि उनले बताए । प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि पुस्तक छपाइमा थप सहज भएको उनले सुनाए ।
केन्द्रले केन्द्रीय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार नौ सय ५४, प्रादेशिक कार्यालय विराटनगरबाट पाँच लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट पाँच लाख ७० हजार सात सय ४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख सात हजार नौ सय २०, प्रादेशिक कार्यालय पोखराबाट ७ लाख ७५ हजार छ सय, प्रादेशिक कार्यालय बुटवलबाट छ लाख ३४ हजार चार सय ७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट तीन लाख ५२ हजार दुई सय र प्रादेशिक कार्यालय धनगढीबाट सात लाख छ हजार चार सय ८१ गरी ७४ लाख ७२ हजार तीन सय ८९ वटा किताब बिक्री–वितरण भएको जनाएको छ ।
केन्द्रका अनुसार सोलुखुम्बु, धनकुटा, मोरङ, सुनसरी, झापा, सिरहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुर्खेत, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीका विद्यालयमा किताब पुग्न बाँकी छ

फरकबाटो ४ बैशाख २०८०, सोमबार १८:१९