नेपाल र ओमानले आज कीर्तिपुरमा अभ्यास खेल खेल्दै


सुर्खेत । नेपाल र ओमानले आज एकदिवसीय अभ्यास खेल खेल्दैछन् । खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुँदैछ ।

एसीसी प्रिमियर कप अघि नेपालले ओमानसँग अभ्यास खेल खेल्न लागेको हो । यो अभ्यास खेल भएकाले अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्दैछन् । अभ्यास खेलपछि नेपालले अन्तिम टोली घोषणा गर्नेछ ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्व कप छनोटमा पुगेका थिए । एसीसी प्रिमियर कप मङ्गलवार वैशाख ५ देखि १८ गतेसम्म कीर्तिपुर र मूलपानी मैदानमा हुँदैछ । समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।

समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ ।

नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ । त्यस्तै, वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।