अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा फौजदारी अदालतमा आत्मसमर्पण

सुर्खेत । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेको आरोप झुट्टा भएको दाबी गरेका छन् । उनीविरुद्ध विभिन्न ३४ वटा गम्भीर अपराधको अभियोग लागेको छ । यी सबै आरोप मिथ्या भएको ट्रम्पले दाबी गरेका हुन् ।

न्युयोर्कको म्यानहटनमा रहेको अदालतमा उपस्थित हुनुअघि उनलाई केहीबेर प्रहरीले प्रक्राउ गरेको थियो । आत्मसमर्पण गरेका उनलाई हतकडी भने लगाइएको थिएन । अदालतमा झन्डै एक घण्टाको सुनुवाइपछि उनी अदालतबाट बाहिरिएका थिए । ट्रम्पविरुद्ध लागेका फौजदारी अभियोगमा पहिलो दिनको सुनुवाइ सकिएको छ । अब अर्को सुनुवाइ डिसेम्बर ४ तारिखमा हुनेछ । ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूमाथि लागेको आरोप झुट्टा भएको र त्यसको कुनै प्रमाण नभएको बताएका छन् ।

सन् २०१६ मा राष्ट्रपति पदका लागि चुनावी आभियन सुरु भएपछि आफूविरुद्ध विभिन्न मिथ्या आरोप लगाइएको उनको दाबी छ । यस्तै अदालत परिसरमा ट्रम्पका समर्थकले विरोध प्रदर्शन गरिरहेका छन् । त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति बनेका छन् ।

ट्रम्पलाई गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मीलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौँ डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइट हाउसबाट महत्त्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति चुनावको मतपरिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद् भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप छ ।