सुशासनको लयमा गुराँस गाउँपालिका


सुर्खेत । पछिल्लो समय गुराँस गाउँपालिका सुशासनको लयमा हिँडेको छ । गाउँपालिकाले कार्यसञ्चालनका लागि आवश्यक कार्यविधि तथा ऐन, नियम, निर्देशिकाहरु निर्माण गरेर मात्रै अगाडी बढेको हो । गाउँपालिकाले कार्यविधि तथा ऐन निर्माण गर्दा स्थानियकरणलाई समेत विशेष ध्यान दिएको छ ।

गाउँपालिकामा नयाँ नेतृत्व चयन भएसंगै आवश्यक कानुन निर्माणमा विशेष जोड दिइएको हो । हालसम्म गुराँस गाउँपालिकामा ७९ वटा विभिन्न ऐन, नियम, कार्यविधिहरु निर्माण भएका छन् । जसमा गत वैशाखमा निर्वाचित भएको नयाँ नेतृत्वले ४५ वटा विभिन्न ऐन, नियम तथा कार्यविधि निर्माण गरेको छ ।

उसो त कानुनबिना कुनैपनि कार्यसञ्चालन तथा क्रियाकलाप अगाडी बढाउनु अवैधानिक हुन्छ । तर कानुन बिना नै करार कर्मचारी नियुक्ती लगाएतका थुप्रै क्रियाकलापहरु यस अगाडीको नेतृत्वले गरेकै कारण गुराँस गाउँपालिका विवादमा आएको थियो ।

हिजो सम्पन्न गाउँपालिकाको ११ औं गाउँसभाको दोस्रो बैठकबाट मात्रै विभिन्न २४ वटा कार्यविधि तथा ऐन पारित गरिएको हो ।
आज गाउँपालिकाले ११ औं गाउँसभाको दोस्रो बैठकबाट गरिएका निर्णयहरु सार्वजनिक गर्न आयोजित मिडियाकर्मी भेटघाट कार्यक्रममा गाउँपालिकाका प्रवक्ता दिपेन्द्र वलीले तत्काल आवश्यक पर्ने विभिन्न २४ वटा ऐन, नियम तथा कार्यविधिहरु बैठकबाट पारित गरिएको जानकारी दिए ।

गाउँपालिकाले न्यायिक समितिको (कार्यविधि) ऐन २०७९, गुराँस कर्मचारी सेवा ऐन २०७९, सामुदायिक विद्युत् सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९, मदिरा नियन्त्रण सम्बन्धी कार्यविधि २०७९, गुराँस संरक्षण तथा व्यवस्थापन कार्यविधि २०७९, टोल विकास समिति गठन तथा परिचालन कार्यविधि २०७९, राउटे तथा लोपोन्मुख समुदायलाई सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९, यौनिक तथा लैगिंक अल्पसंख्यकलाई सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९, गुराँस गाउँ प्रहरी सञ्चालन सम्बन्धी कार्यविधि २०७९, गुराँस अस्पताल फार्मेसी सञ्चालन सम्बन्धी कार्यविधि २०७९, कृषि उपज संकलन केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि २०७९ लगाएतका महत्वपुर्ण २४ वटा कार्यविध तथा ऐनहरु पारित गरिएको हो ।

यस्तै बैठकले गुराँस गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय मातहत कार्य गर्ने गरी सेवा करारमा रहेका सशर्त, साझेदारी, आंशिक साझेदारी लगाएतमा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन मुल्याँकनमा उर्तिण भएका कर्मचारीहरुको सेवा करार म्याद थप गर्ने, चालु आर्थिक वर्ष २०७९/०८० मा बसेका गाउँ कार्यपालिकाको बैठकबाट गरिएका सबै निर्णयहरु अनुमोदन गर्ने, गाउँपालिकाले प्रशासकिय भवन निर्माणका लागि जग्गा प्राप्ति सम्बन्धी प्रकाशन गरेको सुचना अनुसार दान वापत् प्रदान गर्न भनि इच्छा व्यक्ति गरी आवेदन दिएका व्यक्ति, संस्था र फार्म मध्ये छनौटको प्रक्रिया औचित्यको आधारमा अघि बढाउन कार्यपालिकालाई अख्तियारी गर्ने निर्णय समेत गरिएको हो ।

साथै गुराँस गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन ओ एण्ड एम् पारित गर्ने, विगतका आर्थिक वर्षदेखी सञ्चालन तथा निर्माणाधीन रहेका तर अपुरो अवस्थामा रहेका पुर्वाधार तर्फका योजनाहरुको लागत अनुमान तथा ड्रोइङ्ग डिजाइन परिमार्जन गर्नुपर्ने भए आवश्यकता तथा औचित्य पुष्टि हुने गरी परिमार्जन गर्न प्राविधिक शाखालाई अख्तियारी प्रदान गर्ने , गुराँस गाउँ प्रहरी सञ्चालन सम्बन्धी कार्यविधि २०७९ र गुराँस गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा गुराँस गाउँ प्रहरी गठनको कार्य प्रारम्भ गर्नका लागि गाउँ कार्यपालिकाको कार्यालयलाई अनुमती प्रदान गर्ने निर्णय गरिएको हो ।

यस्तै गाउँ कार्यपालिकाको कार्यालय र अन्र्तगतका वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयहरुमा अति आवश्यक कर्मचारी सेवा करारमा नियुक्तिका लागि भर्नाको प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको हो । साथै साविक जिल्ला विकास समिति र गाउँ विकास समितिबाट गुराँस गाउँपालिकामा समायोजन भई सेवा करारमा लामो समय कार्य गरेका कर्मचारीहरुलाई गाउँ सभाको १० औं अधिवेशनको तेस्रो बैठकले गरेको निर्णयको मर्म र भावना प्रतिकुल नहुने गरी कानुनी तथा प्रशासनिक परामर्श गरी यथेष्ट व्यवस्थापन गर्न जिल्ला समन्वय समितिलाई लेखि पठाउन कार्यपालिकालाई अख्तियारी प्रदान गर्ने निर्णय सभाले गरेको हो ।

यस्तै गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि.सीको संयोजकत्वमा तिन सदस्यीय योजनाको जाँचपास समिति गठन गर्ने तथा नेपाल कृषि विकास फार्म प्रा.ली कोहलपुर बाँकेसंग आलु तथा फलफुल बिउँ, विरुवा उत्पादन ल्याब तथा हाइटेक नर्सरी स्थापनाको लागि मिति २०७५ चैत्र २६ गते भएको सम्झौताको बारेमा गाउँ कार्यपालिकाबाट गरिएको अनुगमन प्रतिवेदन र सो फार्मले गरेको अनुरोध अनुसार प्राविधिक मुल्याँकनलाई आधार बनाई सम्झौता भङ्ग गरी सबै चल–अचल सम्पत्ती गुराँस गाउँपालिकाको स्वामित्वमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउन कार्यपालिकालाई अख्तियारी प्रदान गर्ने निर्णय बैठकले गरेको हो ।