प्रधानमन्त्री कप फुटबलमा नेपालले आज लाओससँग खेल्दै


सुर्खेत । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आज (बुधबार) लाओससँग प्रतिस्पर्धा गर्दैछ । अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विन्डोको समय पारेर भुटान र लाओस टिमलाई आमन्त्रण गरी त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

नेपाल र लाओसबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । रंगशाला प्रवेशका लागि साधारण प्यारापिटतर्फ ५ सय र भीआईपी प्यारापिटतर्फ १ हजार टिकट शुल्क तोकिएको छ ।

नेपालले लाओससँग सन् २०१६ यता पहिलोपल्ट खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले लाओसलाई पेनाल्टी शुटआउटमा ३–० ले हराएको थियो । त्यसअघि नियमित समयमा खेल २–२ को बराबरी भएको थियो ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताबाटै नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले नेपाल टिमको जिम्मेवारी सुरु गर्दैछन् । गत भदौमा अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि एन्फाले खुल्ला प्रतिस्पर्धाबाट एनेसलाई गत फागुन ११ गते नियुक्ति दिएको हो ।

छोटो समयमा उपलब्ध उत्कृष्ट खेलाडीहरु समेटेर नयाँ चुनौतीका लागि आफूहरु तयार रहेको प्रशिक्षक एनेसले बताएका छन् । उनले राष्ट्रिय टिममा ६ जना नयाँ अनुहार भित्र्याएका छन् ।

मंगलबारको पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान किरण चेम्जोङले पनि छोटो तयारी समयका बाबजुद आफूहरु लाओसमाथि प्रभावशाली प्रदर्शन गर्न तयार रहेको बताएका थिए ।

नेपालले १४ चैतमा भुटानसँग खेल्नेछ । तीन टिमबीच एकअर्कासँग खेलेपछि प्राप्त अंकका आधारमा शीर्ष दुई टिमले १७ चैतमा फाइनल खेल्नेछन् । प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र हरेक खेलको प्लेयर अफ द म्याचले २५० अमेरिकी डलर पुरस्कार पाउनेछन् । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले सहयोग गरेको हो ।