यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि नै सुरु गर्ने तयारी


सुर्खेत । देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ ।

कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाइनमा हुने गरेकाले भिड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ । बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाइनम बस्नु नपर्ने र उनीहरूले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए । उनले भने , ‘लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन् । आउँछन् र खुरुखुरु जान सक्छन् ।’

बिहानदेखि सेवा सुरु गर्नेबारेमा अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ । सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान ६ बजेदेखि लाइनमा बस्ने गरेका उनले बताए । सेवाग्राहीलाई बुझाउन नसकिएकोले १० बजेसम्म दुई सय जना लाइनमा बस्ने उनले बताए । प्रमुख कपालीले थपे , ‘ताला लगाए पनि बाहिरैबाट लाइन हुने गरेको छ ।’

कार्यालयले दैनिक तीनदेखि साढे तीन सय वटा टोकन बाँड्ने गरेको छ । त्योबाहेक टाढाबाट आएको, जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए । उनले भने, ‘समस्या रहेकालाई टोकन विना ५० देखि एक सयसम्मलाई दिने गरिएको छ ।’

कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन् । विसं २०७२ को दरबन्दीअनुसार ३५ जना रहेकामा र करारबाट २२ जना कार्यरत रहेका छन् । कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै हुने गरेको उनले बताए । सेवाग्राहीको भिड बिहानी समयमा बढी भए पनि दिउँसो कम रहेको छ ।