जावलाखेलले मच्छिन्द्रलाई ३–१ गोलले हरायो


सुर्खेत । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मच्छिन्द्र क्लब जावलाखेल युथ क्लबसँग पराजित भएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालमा आइतवार भएको खेलमा जावलाखेलले मच्छिन्द्रलाई ३–१ गोलले हरायो । जावलाखेलका लागि हिबुस थपलिया, सिमान्त थापा र मोसाबीले गोल गरे । मच्छिन्द्रका देवेन्द्र तामाङले एक गोल फर्काए ।

यसअघि सातदोबाटोले एनआरटीलाई २–१ गोलले हराउँदा अर्को खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटाले गोलरहित बराबरी खेलका थिए ।

‘ए’ डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । लिगमा सहभागी १४ क्लबबिच हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।