राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालियन एनिस नियुक्त

सुर्खेत । विवादबीच बुधबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले विभिन्न २० निर्णय गरेको छ । एन्फा कार्यसमितिको बैठकले नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालियन नागरिक रेन्जी अल्बर्टो एनिसलाई नियुक्त गरेको छ ।

एन्पाले पदपूर्ति समितिले सिफारिस गरेअनुसार वितीय निर्देशकमा संजय गिरी, खरिद प्रमुख कृष्ण श्रेष्ठ इन्जिनियरमा नविन राजभण्डारी र लेखा सहायक रवि खड्का र राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा इटालियन नागरिक भेन रेन्जी अल्बर्टो एनिस नियुक्ति गरेको जनाएको छ ।

बिहान ८ बजे बोलाइएको कार्यसमिति बैठक एजेण्डा प्रवेशको विवादले ढिला सुरु भए पनि विवादित बनेको थियो । एन्फाको संस्थापन पक्षले १९ वटा एजेण्डा राख्दै कार्यसमिति बैठक बोलाएको थियो । तर दुई उपाध्यक्षसहित ५ केन्द्रीय सदस्यले महासचिव र कोषाध्यक्ष बर्खास्त गर्नुपर्नेसमेत एजेण्डामा सहभागी गराउन माग गरेका थिए ।

तर एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले आफूले संघको विधानको धारा ३९ (३) बमोजिम एजेण्डा थप्न नसक्ने बताएपछि बहुमत कार्यसमितिले बैठक बहिस्कार गरेका थिए ।