एमाले अध्यक्षमा ओली बिजयी

चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले एक हजार आठ सय आठ मत पाएका छन् । अध्यक्षमा उठेका भीम रावलले दुई सय २३ मत पाएका छन् ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका थिए ।

यस्तै उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । भुसाल ७२५ मत ल्याएर पराजित भएका हुन् ।

त्यस्तै अष्टलक्ष्मी शाक्यले सर्वाधिक १९७६ मत ल्याइन् भने सुरेन्द्र पाण्डेले १९२५‚ सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत पाएका छन् ।

यस्तै ७ जना सचिव निर्वाचित भएका छन् । सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट निर्वाचित भएका हुन् ।

ओलीको प्रस्तावमाथि असन्तुष्टि जनाउँदै भीम प्रसाद आचार्य र टंकप्रसाद कार्कीले सचिव पदमा उम्मेदवारी दिएका थिए । उनीहरु पराजित भएका छन् ।