
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै छन् । दिउसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसुचि तय भएको हो ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
संसद सचिवालयका सचिब जीवराज बुढाथोकीले प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुखले वाचन गर्ने, मुख्यमन्त्री शाहीले विश्वासको मत लिन प्रस्ताव पेश गर्ने र त्यसमाथि छलफल र भोटिङ्ग गर्ने कार्यसुचि तय भएको जानकारी दिए ।
तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने बैठकमा सहभागी नहुने भएको छ । नेकपा एमालेको महाधिवेशनका कारण एमाले बैठकमा सहभागी हुन नसकेको हो । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले प्रमुख प्रतिपक्ष दलसँग कुनै समन्वय नगरि बैठक तय गरिएको बताए ।
नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनमा शाहीको नेतृत्वमा सरकार बनेको हो । मुख्यमन्त्रीलाई विश्वासको मत पाउन १८ जना प्रदेशसभा सदस्य भए पुग्छ । तर उनलाई २१ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । कर्णाली प्रदेशसभामा ३५ जना प्रदेशसभा सदस्य रहेका छन् । त्यस मध्य एमालेका १३, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका छ र समाजवादीका तीन जना प्रदेश सभा सदस्य रहेका छन् । राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

फरकबाटो १४ मंसिर २०७८, मंगलवार ०९:२३