माओवादी महाधिवेशन : विधान मस्यौदा पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित नभएपछि महाधिवेशन लम्बिएको हो ।

विधान मस्यौदा पारित नहुँदा आज बिहान ११ बजेपछि पुनः बन्दसत्र सुरु हुनेछ । विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउनेछ । माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।