खराब कर्जादर बढेपछि बैंकहरुको नाफामा असर


सुर्खेत । खराब कर्जा बढ्दा र कर्जा प्रवाह घट्दा वाणिज्य बैंकहरुको नाफामा असर परेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा धेरैको नाफा गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा घटेको देखिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाहेक अरु सबै बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

बैंकहरुको खराब कर्जादर बढेपछि नाफामा असर परेको विवरणमा देखिन्छ । निक्षेप सङ्कलनका लागि ब्याजदर बढाए पनि कर्जा प्रवाह अत्यन्तै कम भएकाले यसअवधिमा व्यवसाय विस्तार हुन नसक्दा बैंकहरुको नाफा वृद्धिदर घटेको हो । यसअवधिमा १५ वाणिज्य बैंकहरुको नाफा बढेको छ भने अरुको घटेको छ ।

प्रतिशतका आधारमा एभरेष्ट बैंकको नाफा बढेको छ भने सबैभन्दा धेरै नाफा कमाउनेमा चाहिँ नबिल बैंक देखिएको छ । सनराइज बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक र प्राइम कमर्सियल बैंकको नाफा घटेको छ । नाफा कमाउनेमा नबिल, एनआईसी एसिया, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, एनएमबी बैंक र एभरेस्ट बैंक अगाडि देखिएका छन् ।

एभरेष्ट बैंकको नाफा ८९ दशमलव २९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गएको वर्षको दोस्रो त्रैमासिकमा १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको कृषि विकास बैंक चालु आर्थिक वर्षको यसै अवधिमा १२ करोड ८९ लाख रुपैयाँले घाटामा देखिएको छ ।

नबिल बैंकले ५६ दशमलव ६७ प्रतिशत बढाएर ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । एनआईसी एसिया बैंकले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आईएमई बैंकले २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ । यसैगरी सिभिल बैंकले ६३ करोड रुपैयाँ र सनराइज बैंकले ६५ करोड नाफा कमाएको छ ।