लगानी बोर्डद्वारा ७३ अर्ब बराबरको लगानी स्वीकृति

काठमाडौँ । परियोजनाको संयोजन र व्यवस्थापन गर्दै आएको लगानी बोर्डले रु ७३ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले दुईवटा जलविद्युत् परियोजनको निर्माण तथा विकासका लागि लगानी स्वीकृति तथा पूँजी वृद्धि गर्न अनुमति प्रदान ग¥यो ।

लगानी स्वीकृति हुनेमा करिब रु १० अर्ब ५० करोड लागत रहने ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् आयोजना रहेको छ । सो आयोजना दोलखा जिल्लामा रहेको छ । माथिल्लो तामाकोसीको बाँधस्थल लामाबगरभन्दा माथिल्लो तटमा रहने सो आयोजना निजी क्षेत्रले प्रवद्र्धन गर्न लागेको छ ।

त्यस्तै सङ्खुवासभा जिल्लामा हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनामा थप रु ६२ अर्ब २६ करोड बराबरको पूँजी वृद्धिको प्रस्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको बोर्डका प्रवक्ता सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

बैठकले लगानी बोर्डको आव २०७८÷७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । यस्तै सम्राट सिमेन्ट र माथिल्लो त्रिशूली–१ जलविद्युत् परियोजनाको सेयर खरिद बिक्री सम्झौता स्वीकृत गर्नेलगायत निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री एवम बोर्ड अध्यक्ष शेरबहादुर देउवाले विद्युत् खपत वृद्धि गर्नेसम्बन्धी दीर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितोरूपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिनुभयो ।

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरेबमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराउनुभएको थियो ।

बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, मुख्यसचिव शङ्करदास बैरागी, बोर्डका विज्ञ सदस्य हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठलगायत सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
साभारः गोरखापत्र अनलाइन