बर्डफ्लु देखिएका टर्की र बोइलर नष्ट गरियो

सुर्खेत । सुर्खेतमा बर्डफ्लु देखिएका टर्की र बोइलर नष्ट गरिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं ३ तातापानीमा एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको थियो ।

टर्कीमा बर्डफ्लु देखिएपछि आज फर्मका सबै टर्की नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
केहीदिन यता एक सय बढी टर्की मरेपछि परीक्षणका लागि नमूना काठमाडौं पठाइएको थियो । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएपछी आज जिल्ला प्रशासन कार्यालयको प्राविधिक समितिको आकस्मीक बैठक बसी टर्की नष्ट गर्न निर्देशन दिएको हो ।

बैठकले चार किल्ला तोकेर फर्ममा रहेका टर्की, बोइलर कुखुरा र लोकल कुखुरालाई नष्ट गर्न निर्देशन दिएको थियो ।

पशुपंक्षी विकास निर्देशनालयकाअनुसार पशु चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि पाँच सय मिटरसम्म क्षेत्रमा पालिएका पंक्षीलाई नष्ट गरिएको छ ।

बर्डफ्लु फैलिएको फर्ममा सानाठूला गरी करिब एक हजार दुई सय बोइलर कुखुराका चल्ला, ८० टर्की र लोकल कुखुराहरु डिस्पोजल टोलीले नष्ट गरेको छ  ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताएका छन् ।