काठमाण्डौमा तीन जनाको साथबाट ७ सय ३१ थान पासपोर्ट बरामद


सुर्खेत । काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २६ गोङ्गबुमा रहेको दुई वटा होटलमा बसेका तीन जनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी (पासपोर्ट) बरामद गरेको छ ।

गोङ्गबुको वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भइ टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोङ्गबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो ।

टोलीले होटेल सोनाबाट शङ्कास्पदरूपमा रहेको सात सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी सात सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गए राति पक्राउ परेका उनीहरूका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।