मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिँदै

प्रदेश १ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका हुन् । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक ३० गते दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ । सोही बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री राईले बताए ।

हाल ९२ सदस्यीय प्रदेशसभामा सत्तापक्षीय पाँच दलीय गठबन्धनका ५० जना सदस्य छन् । प्रमुख प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।

मुख्यमन्त्री राईले गठबन्धनमा रहेको दल नेपाली कांग्रेसबाट दुई, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक–एक जना मन्त्री र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री बनाएका छन् ।

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री राईले बताएका छन् ।