दैलेखमा भएको टिपर दुर्घटनामा चालकको मृत्यु


सुर्खेत । दैलेखमा भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नम्बर ९ पादुकाको गोबेधारामा भएको दुर्घटनामा टिपर चालक धनबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

नगरपालिका मुकामबाट पादुका स्वास्थ्य चौकीको फर्निचर पुर्‍याएर पादुकातर्फ गइरहेको भे १ ग ७७ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

दुर्घटनामा दुल्लू नगरपालिकाका कार्यालय सहयोगीद्वय दुल्लु ७ का ३५ वर्षीय नगेन्द्र रावत र दुल्लु २ का ३२ वर्षीय पूर्णबहादुर थापा घाइते भएका छन् । उनीहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ओरालो बाटोमा टिपर सडकबाट तल झरेको प्रहरीले जनाएको छ ।