आगामी ३ दिन अत्यधिक चिसो बढ्ने, बिहानको समयमा सकेसम्म बाहिर ननिस्किन सुझाव

सुर्खेत । आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । केही दिनयता देशभर बाक्लो हुस्सु लाग्दा चिसोमा उत्तारचढाव भइरहेको छ । आउँदो तीन दिनसम्म देशका धेरैजसो ठाउँमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूको सुझाव छ ।

जलवायु तथा विपद् विज्ञ डा। धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताएका छन् । उनले आज (आइतवार ) देखि तीन दिनसम्म देशको धेरैजसो भागमा शीतलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे । अबका केही दिन चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीहरूले बिहानको समयमा घरबाहिर ननिस्किन उनको सुझाव छ ।

उनले भने, ‘पछिल्लो समय एकपछि अर्को पश्चिमी वायुका कारण चिसो बढेको छ । आजदेखि तीन दिनसम्म देशको धेरैजसो भागमा लगभग शीतलहरकै अवस्था रहन्छ । चिसो अझै बढ्नेछ । अरब सागरमा न्यून चापीय अवस्थाका कारण आद्रतासहितको हावा बहेर उत्तरतिर धकेलिँदा त्यसले तुँवालोको फर्मिसन गर्छ । पश्चिम बङ्गालमा पनि केही समयअघि मात्रै न्युन चापीय अवस्था सिर्जना भएको थियो । पश्चिमी वायुको प्रभाव परेका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपातको अवस्था बढेको छ ।’

उनले फोक्सोको क्यान्सर भएका, श्वासप्रश्वासमा समस्या भएका, मुटुका बिरामी, बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताए । उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्यूनतम तापक्रम औसतभन्दा तल हुने र वर्षा पनि कम हुने बताएका छन् ।