मानव अधिकार आयोगलाई ख श्रेणीमा झार्ने सिफारिस रोक्न अधिकारकर्मीको आग्रह


सुर्खेत । मानव अधिकारकर्मी तथा नागरिक समाजले राष्ट्रिय मानव अधिकार आयोगको अन्तर्राष्ट्रिय छवि खस्कन नदिन आयोगका पदाधिकारीले मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगलाई ख श्रेणीमा झर्न नदिन पदाधिकारीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।

राष्ट्रिय मानव अधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय समन्वय समिति ९ग्लोबल एलाइन्स अफ नेशनल ह्युमन राइट्स इन्सिट्युसन ‘गानरी’ को उपसमितिले आयोगलाई ख श्रेणीमा झार्न गरेको सिफारिस कार्यान्वयन हुनबाट रोक्नुपर्नेमा अधिकारकर्मीहरूले जोड दिएका छन् । मानव अधिकार आयोगको श्रेणी खस्किँदै जानुले अन्तर्राष्ट्रियस्तरमा मानव अधिकारको क्षेत्रमा नेपालले अहिलेसम्म आर्जन गरेको विश्वास गुम्ने र त्यसले अन्ततः नेपाललाई नै ठूलो नोक्सानी पुग्ने भन्दै मानव अधिकार प्रत्याभूतिको क्षेत्रमा नेपालले आर्जन गरेको विश्वास कायम राख्न अधिकारकर्मीले जोड दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले आयोगको स्तर ख श्रेणीमा झारिएको सम्बन्धमा आयोगका पदाधिकारीसहित छलफल गरी गानरी सँग नै अनुरोध गर्नुपर्ने आवश्यकता भएको बताए ।

त्यसैगरी पूर्व आयुक्त रामदयाल राकेशले आयोगको अन्तर्राष्ट्रिय छवि खस्कनुको जिम्मेवारी आयोगका वर्तमान पदाधिकारीले लिनुपर्ने धारणा राखे । तत्कालीन शाहीशासन कालमा समेत मानव अधिकारको क्षेत्रमा आयोगको अन्तर्राष्ट्रिय छवि कमजोर नभएको दृष्टान्त दिँदै उहाँले आयोगको स्तर ख श्रेणीमा झर्न नदिन वर्तमान पदाधिकारीले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

गानरी ले संवैधानिक परिषद् गठनसम्बन्धी अध्यादेशको संरचना र त्यही अध्यादेशका आधारमा नियुक्त भएका आयोगका पदाधिकारीलाई मुख्य कारक बनाएर आयोगलाई ख श्रेणीमा राख्नुपर्ने सिफारिस गरेको हो ।

मानव अधिकारकर्मी मोहन आचार्यले मानव अधिकार आयोगसम्बन्धी मूल्याङ्कन गर्ने गानरी को समन्वय समितिले आयोगलाई ख श्रेणीमा राख्न सिफारिस गरेको भए पनि औपचारिक निर्णय भने भइनसकेकाले अझै पनि निर्णय कार्यान्वयन हुनबाट रोक्न सकिने बताए । त्यसका लागि आयोगका पदाधिकारीले राजीनामा गरी मार्ग प्रशस्त गर्नुपर्ने धारणा उनले राखे ।