फेरि कोरोनाको सङ्क्रमण फैलिने जोखिम : मास्क लगाउन र छुटेको भएमा खोपको बुस्टर मात्रा लिन आग्रह


सुर्खेत । छिमेकी देश भारत र चीनमा फेरि कोरोनाको सङ्क्रमण फैलिन थालेको छ । केही दिनदेखि चीनको राजधानी बेइजिङसहित ठूला सहरमा कोरोना सङ्क्रमण बढेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको हो ।

चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले पछिल्लो समय चीनका अस्पताल सङ्क्रमितले भरिन थालेका समेत जनाएको छ ।

त्यस्तै भारतमा पनि सङ्क्रमणको जोखिम उच्च भएको छ । राजधानी नयाँ दिल्लीमा दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएको थियो । तर जोखिम बढेसँगै दिल्लीमा पुनः मास्क लगाउन अनिवार्य गरिँदैछ । चीनमा कोरोना बढ्दै गएपछि भारतले पनि उच्च सतर्कता अपनाउने तयारी गरेको हो ।

भारतमा अहिले दैनिक औसतमा १ सय ५३ जना सङ्क्रमित थपिने गरेका छन् । चीन, जापान, दक्षिण कोरिया, अमेरिका, फ्रान्सलगायतका देशमा पनि पछिल्लो समय सङ्क्रमण बढेको छ ।

नेपालमा सतर्कता र निगरानी

छिमेकी भारत तथा चीनसहित अरु देशमा पनि सङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले हिजो विज्ञप्ति नै निकालेर नेपालमा अहिले सङ्क्रमण कम भए पनि छिमेकी देश भारत तथा चीनमा नयाँ–नयाँ भेरियन्ट फैलिएकाले नेपाल पनि जोखिममा रहेको जनाएको छ ।