देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन् ।

आज मङ्गलवार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि नेता थापाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको समेत सुनाए ।

महामन्त्री थापाको संसदीय दलको नेताका लागि प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन् । संसदीय दलको चुनाव बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।