
सुर्खेत । नदीमा जलसतह घटेपछि नेपाल विद्युत् प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको छ । स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता एवम् भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए ।
प्राधिकरणले यस वर्ष ११ अर्ब रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ । गएको जेठ १९ गतेदेखि बिजुली भारत निर्यात सुरु गरेको प्राधिकरणले मङ्सिर अन्तिमसम्म निर्यात गरेको हो । सुरुमा ३९ मेगावाटबाट निर्यात सुरु गरेको प्राधिकरणले चार सय १९ मेगावाटसम्म निर्यात गरेको थियो । भारतमा प्रतियुनिट बिजुली औसत आठ रुपैयाँ २५ पैसामा बिक्री गरिएको थियो ।
नदीमा जलसतह घटेपछि आन्तरिक माग व्यवस्थापनका लागि प्राधिकरणले अहिले भारतबाट तीन सय मेगावाट बिजुली आयात गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । बिहान ३ बजेदेखि ११ बजेसम्मको माग व्यवस्थापनका लागि प्राधिकरणले बिजुली आयात गरिरहेको छ ।
चिसो बढेसँगै बिजुलीको माग पनि बढिरहेको छ । कोठा न्यानो बनाउन बिजुलीको प्रयोगमा वृद्धि भएपछि मागमा वृद्धि भएको हो । कुल उत्पादित बिजुलीमध्ये प्राधिकरणका आयोजनाबाट सात हजार आठ सय ७४ मेगावाट घण्टा, सहायक कम्पनीका आयोजनाबाट चार हजार चार सय ४३ मेगावाट घण्टा उत्पादन भएको छ ।
त्यस्तै निजी क्षेत्रका आयोजनाबाट १२ हजार सात सय ४० मेगावाट घण्टा बिजुली उपलब्ध छ । यस्तै विभिन्न स्थानमा भएको अवरोधका कारण दुई सय ३३ मेगावाट घण्टा प्रणालीभन्दा बाहिर छ । देशभित्रको कुल जडित क्षमता दुई हजार दुई सय ५० मेगावाट बराबर छ । चालु आवको अन्त्यसम्म प्रणालीमा थप आठ सय मेगावाट बराबरको बिजुली थप हुनेछ ।
प्राधिकरणको मागअनुसारको अनुमति नपाएपछि वर्षायाममा केही बिजुली खेर गएको थियो । चालु आवमा थप हुने बिजुलीको भारत निर्यातका लागि वा आन्तरिक खपतका लागि आवश्यक व्यवस्था गर्न नसकिए प्राधिकरणलाई ठूलो घाटा हुने अवस्था पनि उत्तिकै छ । तर हिउँद लागेपछि नदीमा जलसतह ओरोलो लाग्दा अपेक्षित क्षमताअनुसारको बिजुली उत्पादन हुन सक्दैन ।
यद्यपि चालु आवको तीन महिनामा मात्रै प्राधिकरणले आठ अर्ब ५० करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । यस्तै २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई ३० रुपैयाँमात्रै महसुल तिर्दा हुने व्यवस्था गरिएको छ । त्यसबाट पनि प्राधिकरणले उपभोक्तालाई वार्षिक २० अर्ब रुपैयाँ बराबरको राहत दिएको दाबी गरेको छ ।
आन्तरिकरूपमा नै बिजुलीको खपत बढाउनका लागि पहल भए पनि पछिल्ला दिनमा औद्योगिक क्षेत्रमा बिजुलीको माग घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा उपभोक्ता मुद्रास्फीति बढेकाले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । जसको प्रभाव पनि बिजुलीको खपतमा परेको छ ।

फरकबाटो ४ पुष २०७९, सोमबार २०:०५