रारा जाने पर्यटकलाई लक्षित गरि जुम्लामा होमस्टे

जुम्ला । राराजाने पर्यटकलाई लक्षित गरि जुम्लामा होमस्टे सञ्चालनमा ल्याइएको छ । जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ७ पट्मारा गाउँलाई होमस्टे गाउँको रुपमा विकास गर्न लागिएको हो ।

पहिलो चरणमा पट्मारा गाउँका ६ वटा घरमा नमुनाको रुपमा होमस्टे संचालन गरिएको हो । ६ वटा घरमा संचालन गरिएको होमस्टे सफल भएमा अन्य घरहरुलाई पनि होमस्टे बनाउने हातेमालो नेपाल जुम्लाले जानकारी दिएको छ ।

हाल रेडपाण्डा संरक्षण नेटवर्क जुम्लाको सहयोगमा ६ वटा घरलाई होमस्टे बनाईएको हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतले बताए । उनका अनुसार मुगुको राराताल अवलोकन गर्नजाने पर्यटकलाई लक्षित गरि पट्मारा गाउँका ६ वटा घरलाई होमस्टे बनाईएको होे ।

‘गत वर्ष चैतमहिनादेखि सुरु भएको होमस्टेमा कोरोना भाइरस महामारीका कारण पाहुना आएका छैनन् ’ रावतले भने “ कोरोनाको संकट कम भएर पर्यटनले लय समात्न थालेपछि फेरि पट्मारा गाउँका होमस्टे घरहरु पाहुनाको पर्खाइमा बसेका छन् ।” कार्यकारी निर्देशक रावतले पट्मारा गाउँका होमस्टे घरहरु पाहुनाको लागि पर्खाइमा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई निम्तो गरेको बताए ।

होमस्टे संचालन गर्दै आएकी पट्मारा गाउँकी राज्यलक्ष्मी रावतले समेत आँफुहरु पाहुनाको पर्खाइमा रहेको बताईन् । होमस्टेमा बस्न आउने पहुनालाई न्यानो स्वागतका साथै रैथाने बालीका परिकार खुवाउन आत्तुर रहेको उनले सुनाईन् । रावतका अनुसार होमस्टेमा स्थानीय लोकल कुुखुराको सुप, मासु, कालीमार्सी चामलको भात, फापरको परिकार र चिनोको खिर लगायतका परिकार बनाएर पाहुनालाई खुवाउन सकिनेछ ।

मुगुको रारामा जाने र पट्मारा गाउँकै माहारुद्र सामुदायिक वनमा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा हेर्नको लागि आउने पर्यटकलाई लक्षित गरि ६ वटा घरले होमस्टे सुरु गरेको रावत जानकारी दिइन ।

होमस्टे सुरु गरेका सबै घरले मापदण्ड पुरा गरेको भन्दै उनले स्वच्छ र सफा वातावारणमा बसाल्ने तयारी गरेको बताइन् । विश्वकै लोपन्मुख अवस्थामा रहेको रेडपाण्डा हेर्नको लागि भएपनि पट्मारा गाउँमा एक पटक आउन उहाँले आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरिन् । होमस्टे गाउँमै पहिलो भएकाले पाहुनालाई अर्गानिक परिकार पस्कने रावतको भनाइ छ । आन्तरिक पर्यटनलाई चलायमान बनाउन होमस्टे गाउँले महत्वपूर्ण अर्थ राख्ने उनले बताइन् ।

‘आन्तरिक पर्यटनलाई बलियो बनाएमा बाह्य पर्यटक नआउँदा पनि लगानी उठाउन सकिन्छ ’ उनले भनिन् “ पट्मारा गाउँलाई आनीबानी परिवर्तन सहितको पूर्ण सरसफाई गाउँ बनाइने तयारी छ । ” सरसफाईको लागि प्रत्येक घरमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनको लागि खाल्डो, जुठेल्नोको पानी व्यवस्थापन, धारा टुटी सहितको वाल्टिन व्यवस्थापन, सफा र वाटर सिल्ड प्यान सहितको साबुन पानी व्यवस्था भएको पक्की शौचालय, सफा र धुँवारहित भान्साको व्यवस्था गरिएको होमस्टे संचालक रावतले बताईन् ।