विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउनुपर्नेमा सरोकारवालाहरुको जोड


सुर्खेत । नेपालमा प्रकाशन तथा प्रशारण हुने विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउन सबैले जोड दिन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

नेपालस्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र विज्ञापन बोर्ड नेपालले ललितपुरमा शुक्रवार गरेको छलफलमा सरोकारवालाहरुले विज्ञापनलाई लैङ्गिक संवेदनशील र उत्तरदायी बनाउन जोड दिएका हुन् ।

विज्ञापनको असर सामाजिक मनोविज्ञानमा धेरै लामोसम्म रहने भएकाले विज्ञापनको अवधारणा बनाउने र निर्माणमा धेरै मेहनत गर्नुपर्नेमा सबैले जोड दिए ।

विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले महिला र पुरुषबीचमा विभेद हुने खालका विषयवस्तु विज्ञापनमा राख्नु नहुने बताए । उनले विज्ञापन बजारलाई लैङ्गिकमैत्री बनाउनुपर्ने सुनाए ।

यूएनडीपीका सञ्चारप्रमुख कमलराज सिग्देलले संयुक्त राष्ट्रसंघले विश्वभरि प्रशारण हुने विज्ञापन लैङ्गिक संवेदनशील होस् भनेर काम गरिरहेको बताए । उनले विज्ञापनले समाजमा छिट्टै असर गर्ने भएकोले निर्माणको चरणमा नै विज्ञापन लैङ्गिक उत्तरदायी भए नभएको हुर्नुपर्ने सुनाए ।