दलितको मुद्धा गैर दलितको पनि हुनुपर्छ

सुर्खेत । दलित समुदायको मुद्धा गैर दलितको पनि हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बुधबार दलित महिला संघ (फेडो ) र प्लान ईन्टरनेशलनको साझेदायरीमा आयोजित दलित समुदायका सवाल र सरोकारवालाको भुमीका विषयक छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै आवाज संस्थामा कार्यरत चेतन गिरीले दलितको सवाल दलित समुदायले मात्रै उठाउँदा प्रभावकारी नभएको बताए । उनले दलितको सवाल गैर दलितको पनि हुन सके मात्रै विभेदको अन्त्य हुने तर्क गरे ।

नेपाल महिला अपाङ्ग संघ कर्णाली प्रदेशका कार्यक्रम संयोजक धनसरा शाहीले दलित समुदायका बालबालिकाहरुको विशेषगरि अपाङ्गता भएका दलित बालबालिकाहरु विद्यालयको पहुँचमा नभएको भन्दै यसतर्फ सबैको ध्यान जान आवश्यक भएको बताईन् ।

सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामका निर्देशक मधुरानी ढकालले अधिकार जसको हातमा होल्ड भएको छ उसैले यसमा आवाज उठाउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा सहभागी अधिकाँशले दलित समुदायको मुद्धा दलितको मात्रै रहे न्याय नपाइने भन्दै गैर दलितहरुले समेत यसमा आवाज उठाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै दलित महिला संघ फेडोका केन्द्रिय सचिव हेमा सुनारले २१ मार्चलाई साझा अभियानको रुपमा मनाउनुपर्ने, दलित समुदायका सवालहरु मिडियामा आउनुपर्ने र विशेष गरी कर्णालीमा बालविवाहमा परेको दलित समुदायका बालकालिकाहरुका विषयमा तिनैतहका सरकारले सोच्नुपर्ने बेला भएको बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय मानव अधिकार आयोग कर्णालीका मानबहादुर कार्कीले विभेदका पनि विभिन्न आयाम भएकोले सबैभन्दा पहिले जातीय विभेदलाई नै निर्मुल पार्नेतिर लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रमका सभाअध्यक्ष फेडो सुर्खेतका अध्यक्ष मञ्जु सुनारले दलित दलित भित्रै विभेद छ भनेर सरोकारवाला निकायहरु विभेद अन्त्य गर्नबाट पञ्छिन नहुने बताइन् । आँफुहरुले राज्यबाट समान अवसर प्राप्त गरे दलित शब्दलाई नै हटाउन चाहेको सुनारले धारणा राखिन् ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायमा जातीय विभेद लगाएतका क्षेत्रमा काम गरेका व्यक्तिहरु, सञ्चारकर्मी लगाएतको सहभागीता रहेको थियो ।