एमसिसीबारे व्याख्यात्मक टिप्पणी गरेर लाज छोप्ने बाटोमा नलागौं: बाबुराम भट्टराई

काठमाडौं । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एमसिसी नेपालको हितमा भएको बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा एमसिसीबारे सैद्धान्तिक छलफलमा भाग लिएका पूर्वप्रधानमन्त्री भट्टराईले अलिकति अप्रिय भए पनि एमसिसी छनौट गर्नु राम्रो भएको बताए।

‘अनुदान अलिकति अप्रिय भए पनि देशको हितमा छ,’ उनले भने। उनले एमसिसी अनुदान सहयोग लिएर जान उपयुक्त हुने पनि बताए। उनले सत्तारूढ र प्रतिपक्षी दलले एकमत भएर एमसिसी पारित गर्नुपर्ने पनि बताए।

‘सहमति भएको कुरा छ। सत्ता छोड्न सकिएन त्यसैले झिनो लाज छोप्ने बाटो व्याख्यात्मक टिप्पणी गरौं भन्नेतर्फ नलागौं, जनतामा भ्रममा नराखौं। भोलि गल्ती गरिएछ भन्ने हुन्छ,’ उनले भने।

भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालतर्फ संकेत गर्दै एमसिसीबारे तलैसम्म भ्रम छरेको आरोप लगाएका छन्।