नवौं राष्ट्रिय खेलकुद आजबाट सुरु हुँदै

पोखरा । गण्डकी प्रदेशमा आयोजना हुने नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा सुरु हुँदैछ ।

पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ । अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले नवौंको औपचारिक उद्घाटन गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ्य भएपछि उपराष्ट्रपतिले नवौंको उद्घाटन गर्न लागेका हुन् ।

नवौंको उद्घाटनमा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने छन् । मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।

कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो ।  गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो ।  यस अघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको छ । नवौंको अधिकासं खेलहरु पोखरा रंगशालामा हुनेछ।

नवौंको सफल आयोजनाका लागि सम्पूर्ण तयारी समेत पूरा भएको छ । नवौंको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका थिए ।

नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यस पटक विभागिय टोलि नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् ।

यस पटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।  नवौं अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भईसकेको छ । केहि खेलहरु उद्घाटन अघि नै सुरु भईसकेको छ ।