बुद्ध एअरले थाल्यो पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी


सुर्खेत । बुद्ध एअरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुद्ध एअरले आउँदो पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्न लागेको हो । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ ।

“पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौँ, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एअरबाट हुनेछ”, बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने ।

पोखरा विमानस्थलबाट बुद्ध एअरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ ।