विद्यालय बन्द गरेर राजनीतिक दलको निर्वाचन

सुर्खेत । सुर्खेतमा विद्यालय नै बन्द गरेर राजनीतिक दलको निर्वाचन गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नं ५ बावियाचौरमा रहेको विद्याज्योति माविमा नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज क्षेत्रीय अधिवेशनको आयोजना गरिएको हो ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकामा विद्यालयहाता भित्र दलगत राजनीतिक गतिविधि, आमसभा, गोष्ठी, अभिमूखिकरण,  दलगत राजनतिक तथा अन्य सभा सम्मेलन गर्न नपाइने र दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द गर्न नपाइने उल्लेख छ । तर उक्त निर्देशिकालाई वेवास्ता गर्दै दलको निर्वाचन गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटाले स्थानीय बिदा भएकाले सोही समयमा निर्वाचन भएको जानकारी दिए । उनले भने, ‘स्थानीय विदा थियो । पढाई नै बन्द भएको होइन । बिदाको समयमा कार्यक्रम भएको हो । स्कुलले पनि स्थानीय बिदा दिन पाउँने अधिकार छ नि । फेरी मेयरसाबले नै गर्नुपर्छ भने पछि हाम्रो के लाग्छ र ?

नगरपालिकाले स्थानीय बिदा दिएर विद्यालयमा राजनीतिक दलको निर्वाचन गरेपछि बिरोध भएको छ । नेकपा माओवादी केन्द्र पञ्चपुरीले मंगलबार प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण जनाएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘करिब एक हजार तीन सय विद्यार्थीहरुको प्रत्यक्ष भविष्यसँग जोडिएको प्रथम त्रैमासिक परीक्षा चलिरहेको अवस्थामा विद्यालय नै बन्द गर्न लगाई लोकतान्त्रिक मुल्यमान्यता र संविधानकै धज्जी उडाउँदै देखाएको राजनैतिक दादागिरी प्रति कडा आपत्ति प्रकट गर्दछौँ ।’ केन्द्रले विद्यालय प्रशासनलाई कारबाहि गर्न माग गरेको छ ।