सीमा नाका बन्द भएसँगै सुरक्षा व्यवस्थामा कडाइ : बाँकेमा दुई देशका सुरक्षाकर्मीद्वारा संयुक्त गस्ती


सुर्खेत । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावलाई ध्यानमा राखेर भारत तथा चीनसँगका सीमा नाका बन्द गरिएको छ । चुनावका बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गएराति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म छिमेकी दुई देशसँग जोडिएका सीमानाका बन्द गरिएको हो ।

सीमा क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्थालाई कडा पारिएको गृह मन्त्रालयले जनाएको छ । भारततर्फको सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएका छन् ।

बाँकेको तीनवटै निर्वाचन क्षेत्रलाई छुने ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको र त्यहाँ संयुक्त गस्ती थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले संयुक्तरूपमा गस्ती गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए ।