लाल सिंह चड्डा फ्लप भएपछि आमिर खानले गरे अभिनयबाट ब्रेक लिने घोषणा

काठमाडौं । बलिउड उद्योगका चर्चित अभिनेता आमिर खान पछिल्लो पटक फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । यस फिल्ममा आमिर खानसँगै करिना कपूर खान र मोना सिंह जस्ता कलाकारहरू महत्वपूर्ण भूमिकामा देखिएका छन् । आमिर खानले दर्शकलाई फिल्म हेर्न धेरै अनुरोध गरेका थिए तर अधिकांशले बहिष्कार गरेका थिए । यो फिल्म बक्स अफिसमा ठूलो फ्लप साबित भयो । ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर खानले अब ठूलो निर्णय लिएका छन् । पछिल्लो जानकारी अनुसार आमिर खानले करिब ३५ वर्षपछि अभिनयबाट ब्रेक लिएका छन् ।


सोमबार दिल्लीमा भएको एक कार्यक्रममा आमिर खानले आगामी प्रोडक्सनको बारेमा कुरा गरे र उनले अभिनयबाट ब्रेक लिनुको कारण पनि बताए । अभिनेताले भने, ‘एक अभिनेताको हैसियतमा जब म कुनै फिल्म गर्छु, मेरो जीवनमा के भइरहेको छ भन्ने कुरा बिर्सन्छु । ‘लाल सिंह चड्ढा’ पछि पनि च्याम्पियन्स नामको फिल्म गर्ने सोचमा थिएँ । फिल्मको स्क्रिप्ट उत्कृष्ट र कथा निकै राम्रो छ । तर मलाई लाग्छ अब मैले विश्राम लिनुपर्छ । म आफ्नो परिवार, छोराछोरी र आमासँग समय बिताउन चाहन्छु ।’

आमिर खानले थप भने, ‘मैले लगभग ३५ वर्षदेखि कम काम गरिरहेको छु र मेरो ध्यान सधैं आफ्नो काममा केन्द्रित भएको छ । मलाई लाग्छ यो मेरो नजिकका मानिसहरूलाई उचित छैन । मलाई लाग्छ कि केही समयका लागि टाढा जाने यहि नै सही समय हो । म जीवनलाई फरक तरिकाले अनुभव गर्न चाहन्छु । अबको डेढ वर्ष अभिनेताको रुपमा काम गर्दिनँ ।’

आमिर खानले ‘च्याम्पियन्स’ मा पनि काम नगर्ने स्पष्ट पारेका छन् । उनले यो चलचित्रमा निर्माताको रुपमा मात्रै काम गर्नेछन् । उनले यो फिल्मबाट अभिनेताका रुपमा हात झिकेका छन् । यो फिल्मका लागि उनी आफैंले अरु कलाकारसँग सम्पर्क गर्नेछन् । यो फिल्मले राम्रो व्यापार गर्न सक्छ भन्ने उनीहरुको अनुमान छ । आमिर खानले आफू सम्बन्धको आनन्द लिन चाहने चरणमा उभिएको बताए ।