सुर्खेत । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ सुरु भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा आज ‘प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ सुरु भएको हो ।

गृह सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा सञ्चालन भएको गोष्ठीमा सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुले आ–आफ्ना जिल्लाको शान्ति सुरक्षालगायतका समग्र विवरणहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला सचिव दिनेशसागर भुसालले जानकारी दिए ।
“समग्र प्रदेशको अवस्थाका विषयमा म आफैले विवरण राख्नेछु,” सचिव भुसालले भने, “यो गोष्ठी शान्ति सुरक्षाका हिसाबले गृह मन्त्रालय अन्तरगत हुने वार्षिक नियमित कार्यक्रम पनि हो ।” यसमा कर्णालीको विपद् र विशेषगरी निर्वाचन सुरक्षामा आउने चुनौतिका विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । मौसम प्रतिकुलताका कारण समयमै हवाई उडान हुन नसक्दा बिहान ९ः०० बजेदेखि हुने भनेको कार्यक्रम दिउसो २ बजेबाट सुरु भएको छ ।
उक्त गोष्ठीमा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा. गोपीकृष्ण खनाल, नेपाली सेना बलाधिकृत विभागका रथी सरोज प्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय र आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखद्वय फणिन्द्रमणि पोखरेल र शिवराम पोखरेल लगायत कर्णाली प्रदेशका दश जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको कानून मन्त्रालयले जनाएको छ ।

फरकबाटो २२ कार्तिक २०७९, मंगलवार १५:००