चुनावकाे भिडभाडले काेराेना सङ्क्रमण बढ्न सक्छ, सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड(१९ को सङ्क्रमण कायम रहेकाले चुनाव केन्द्रित गतिविधि गर्दा र सहभागी हुँदा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयले कोभिड १९ को जोखिम कायम रहेकाले सङ्क्रमणबाट बच्न भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले चुनाव केन्द्रित कार्यक्रमहरुमा भिडभाड गर्दा कोभिड १९ को सङ्क्रमण दर बढ्नसक्ने बताए । उनले देशमा कोभिड सङ्क्रमण दर धेरै नभए पनि सङ्क्रमणको अवस्था भने यथावत् रहेको उल्लेख गरे । उनले भिडभाड बढी हुँदा अन्य प्रकारका सङ्क्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताए । डा.अधिकारीले कोभिड(१९ विरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भिडभाड हुने ठाउँमा नजान पनि आग्रह गरे ।

उनले विश्वव्यापी रुपमा कोभिड १९ को सङ्क्रमण घटेको बताए । देशमा पनि गएको समयभन्दा सहज अवस्था रहेको उनको भनाइ छ । तर पनि सङ्क्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानी अपनाउनुपर्ने उनले स्पष्ट पारे । डा. अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड(१९ का सङ्क्रमितहरु रहेको बताए ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। अधिकारीका अनुसार अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइ सकिएको तथ्याङ्क छ । उनले खोप लगाउने लक्षित जनसङ्ख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए ।

उनले ८० लाख मात्रा बुस्टर डोजको प्रयोग भएको पनि बताए । उनले कोभिड १९ विरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिए । नागरिकहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गरी कोभिड १९ विरुद्धको खोप लगाउन पनि डा. अधिकारीले आग्रह गरे ।