पीएम कप : आज दुई खेल हुँदै

काठमाडौं । पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलबार समूह चरणका अन्तिम दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानीमा रहेको मुलपानी क्रिकेट मैदानमा मंगलबार एक एक खेल हुँदै छन्। टियु क्रिकेट मैदानमा हुने खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

मधेस र पुलिस यस अघि नै सेमिफाईनल प्रवेश गरिसकेका भए पनि आजको खेलबाट समूह बिजेता र उपबिजेताको टुङ्गो लाग्नेछ । आजको खेलको बिजेता समूह बिजेता बन्नेछ ।

मुलपानी मैदानमा हुने खेलमा कर्णाली प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल पनि बिहान ९:३० बजे सुरु हुनेछ।

प्रतियोगिताबाट बाहिरिसकेका कर्णाली आजको खेलबाट पहिलो अंक जोड्न चाहन्छन् । उता, आर्मी भने कर्णाली माथी जित निकाल्दै सेमिफाईनल पुग्न चाहान्छ । आजको खेलमा कर्णाली बिजयी भएमा गण्डकी प्रदेश सेमिफाईनल प्रवेश गर्दछ । आर्मी बिजयी भएमा आर्मी नै सेमिफाईनल पुग्दछ । यस समूहबाट नेपाल एपीएफ क्लब यस अघि नै सेमिफाईनल पुगिसकेको छ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाईनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।