गायक प्रकाश दूतराजले गरे अष्ट्रेलियामा आत्महत्याको प्रयास

काठमाडौं । गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले जनाएको छ ।

उक्त घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको जनाइएको छ । गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टको लागि अष्ट्रेलियामा छन् । आयोजकले उनीहरुलाई एउटै फ्ल्याटमा राखेको छ ।

दूतराजले सलको पासो लगाएर झुण्डिने प्रयास गरेका थिए । सोही क्रममा उनी बसेको ढोका पनि खुल्लै भएको जनाइएको छ । कोठाबाट आवाज आएपछि गायिका गिरीले दूतराजको कोठामा पसेर उद्धार गरेको स्रोतले जानकारी दियो ।

दूतराज अहिले सामान्य अवस्थामा छन् । अन्तर्मुखी स्वभावका दूतराजले आत्महत्या प्रयास गुर्नको कारण खुलेको छैन । सिड्नीमा हुन लागेको एक सांगीतिक कार्यक्रमपछि दूतराज र भूमिका गिरी नेपाल फर्कने तयारीमा छन् ।