निर्वाचनमा खटिँदै दुई हजार ३४४ कर्मचारी

काठमाडौं । निर्वाचन प्रयोजनका लागि सुर्खेतमा दुई हजार तीन सय ४४ जना कर्मचारी खटिने भएका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी कुमार ज्ञवालीले आवश्यकताअनुसार थप कर्मचारी र स्वयमसेवक खटाउन सकिने पनि जानकारी दिए ।


सूचना अधिकारी ज्ञवालीका अनुसार पाँच सय मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी र प्रत्येक मदतान केन्द्रमा एक–एक कार्यालय सहयोगी खटिनेछन् । उनले मतदानस्थल र मतदान केन्द्रमा खटिनेमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेको जानकारी दिए । प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक सय ३९ मतदानस्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ मा ७२ मतदानस्थल र एक सय ४४ मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं २ मा ६७ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र कायम गरिएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ ९१० मा ३१ मतदानस्थल र ६४ मतदान केन्द्र तोकिएको छ भने ९२० मा ४१ मतदानस्थल र ८० मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं २ ९१० मा २४ मतदानस्थल र ७३ मतदान केन्द्र तोकिएको छ भने ९२० मा ४२ मतदानस्थल र ७६ मतदान केन्द्र कायम गरिएको कर्णाली प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।