भारतीय जनता पार्टीले चन्दाबापत एकै वर्ष ६ अर्ब १४ करोड भारु प्राप्त गर्‍यो

सुर्खेत । भारतीय जनता पार्टी (भाजपा) ले एकै वर्ष ६ अर्ब भारुभन्दा धेरै चन्दा प्राप्त गरेको छ । एसोसिएशन अफ डेमोक्रेटिक रिफर्म्स (एडीआर) को रिपोर्टअनुसार भाजपाले सन् २०२१र०२२ मा सबैभन्दा धेरै चन्दा प्राप्त गरेको बीबीसी हिन्दीले जनाएको छ ।

एडीआरको अनुसार सन् २०२१र०२२ का लागि राष्ट्रिय राजनीतिक दलहरूले कुल ७ अर्ब ८० करोड भारु प्राप्त भएको घोषणा गरेका छन् । भाजपाले घोषणा गरेको चन्दा यस अवधिमा कांग्रेस, एनसीपी, भाकपा, माकपा, एनपीईपी, तृणमूल कांग्रेसद्वारा घोषित कुल चन्दाभन्दा तीन गुणाले धेरै हो ।

एडीआर रिपोर्टका अनुसार भाजपाले ६ अर्ब १४ करोड भारु र कांग्रेसले ९५ करोड भारु चन्दा प्राप्त गरेको छ । यो रकमलाई दुवै पार्टीले स्वीकार गरेका छन् । भाजपाले ४ हजार ९ सय ५७ तथा कांग्रेसले १ हजार २ सय ५५ जना व्यक्ति र संस्थाको चन्दाबाट यो रकम प्राप्त गरेको बताएका छन् । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय दलहरूले प्राप्त गरेको चन्दा ३१ प्रतिशतले बढेको खबरमा उल्लेख छ ।