यी हुन् दशैँतिहारमा व्यावसायिक रूपमा सफल चार फिल्म

काठमाडौं । गत वर्ष दशैँतिहारमा कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएन। कोरोना महामारीका कारण बन्द भएका हल दशैँकै छेको पारेर खुले पनि कुनै पनि निर्माताले आफ्नो फिल्म प्रदर्शन गरिहाल्ने आँट गरेनन्। यो वर्ष भने दशैँ र तिहार दुवै चाडमा हलमा नेपाली फिल्मको कमी भएन।

दशैँतिहार नेपाली निर्माताका लागि फिल्म प्रदर्शन गर्न पहिलो रोजाइको मिति हो। धेरै विदा हुने भएकाले फिल्मलाई लगानी सुरक्षित गर्न तुलनात्मक रूपमा सजिलो हुन्छ भन्ने उनीहरूको बुझाइ छ। त्यसका उदाहरण पनि धेरै छन्। यो वर्षको दशैँतिहार नेपाली फिल्म उद्योगका सुखद रह्यो। छ हप्ताको अन्तरमा प्रदर्शनमा आएका सात फिल्म मध्ये चार फिल्म व्यावसायिक रूपमा सफल साबित भए। तर, केही फिल्मले हलमा पानी पनि भन्न पाएनन्।

असोज ७ गते प्रदर्शनमा आएको ‘प्रेम गीत ३’ व्यावसायिक रूपमा सबैभन्दा सफल रह्यो। हिन्दी र नेपाली गरी दुई भाषामा विश्वका झण्डै चार दर्जन देशमा एकसाथ प्रदर्शन भएको फिल्मले विश्वभरबाट ३५ करोडमाथि कमाइ गर्‍यो। जुन नेपाली फिल्म उद्योगका लागि ऐतिहासिक कमाइ हो। घटस्थापनाको दुई दिनअघिदेखि प्रदर्शनमा आएको फिल्मले दशैँ विदाको भरपुर फाइदा उठायो। छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङ मुख्य भूमिकामा देखिएका थिए।

त्यस्तै दशैँको दुई दिनपछि असोज २१ देखि प्रदर्शनमा आएको दिपेन्द्र लामा निर्देशित ‘दुई नम्बरी’ले बक्स अफिसमा करिब ७ करोड रुपैयाँ कमाइ गरेको छ। फिल्म तीन हप्ताभन्दा बढी दर्शकको उल्लेख्य उपस्थितिका साथ हलमा प्रदर्शन भएको थियो। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ।

दशैँको छेको पारेर प्रदर्शन भएका प्रेम गीत ३ र दुई नम्बरी व्यावसायिक रूपमा सफल हुँदा तिहारको छेकोमा प्रदर्शन भएका ‘के घर के डेरा’ र ‘महापुरुष’ यतिवेला सफलताका साथ प्रदर्शन भइरहेका छन्।

कात्तिक ४ देखि प्रदर्शनमा आएको दीपेन्द्र के खनाल निर्देशित के घर के डेराले ४ करोडमाथि कमाइ गरिसकेको छ भने अबको एक हप्तामा पाँच करोडको आँकडा पार गर्ने संकेत देखिएको छ।

त्यस्तै कात्तिक ११ देखि प्रदर्शनमा आएको प्रदीप भट्टराईद्वारा लिखित तथा निर्देशित फिल्म महापुरुषले पहिलो तीन दिनमै साढे तीन करोडमाथि कमाइ गरेको छ। दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको फिल्मले पहिलो हप्तामै ५ करोडको आँकडा छुने देखिएको छ। सामाजिक कथामा बनेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली र रविन्द्रसिंह बानियाँ लगायतको मुख्य भूमिका छ।

यीबाहेक असोज १४ सुरेन्द्र पौडेलको निर्देशनमा बनेको बाबरी, असोज २८ मा साकार पन्तको निर्देशनमा बनेको ‘हिजो आजका कुरा’ र कात्तिक ४ मा रिमेश अधिकारीको निर्देशनमा बनेको ‘नालापानी’ प्रदर्शनमा आएका थिए। यी व्यावसायिक रूपमा सफल हुन सकेनन्।